sajhaartha.com १० पुष २०८१, बुधवार
१० पुष २०८१, बुधवार
25th, December 2024, Wednesday
ताजा खबर

विश्व व्यापारमा नेपाल आयातमा ११४औँ र निर्यातमा १५३औँ स्थानमा

४ भदौ २०८१, मङ्गलवार साझा अर्थ संवाददाता
167
Shares

 

अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)को तथ्यांकले विश्व व्यापारमा नेपालको आयात–निर्यातको हिस्सा ०.१ प्रतिशतसमेत पुग्न नसकेको देखाएको हो । 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।  जसअनुसार सन् २०२३ मा विश्वको कुल निर्यात व्यापारमा नेपालको हिस्सा ०.००५ प्रतिशत रहेको छ भने कुल आयातमा हिस्सा ०.०४३ प्रतिशत रहेको छ ।


कार्यालयका अनुसार आइटिसीले विश्व व्यापारमा देशीय स्थानसमेत विश्लेषण गर्ने गरेको छ । जसअनुसार सन् २०२३ मा विश्वको कुल निर्यात व्यापारमा नेपाल १५३औँ स्थानमा रहेको छ । त्यस्तै, विश्व व्यापारको कुल आयातमा नेपाल ११४औँ स्थानमा रहेको छ । 


व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आव ०८०÷८१ मा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३७ करोडबराबरको वैदेशिक व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १.३ प्रतिशतले कमी हो । कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ८.७ प्रतिशत र ९१.३ प्रतिशत रहेको छ । यस अवधिमा नेपालको कुल निर्यात ३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोडमा झरेको छ । त्यस्तै, कुल आयात १.२ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९९ करोडमा सीमित भएको छ ।  


आर्थिक वर्ष ०८०÷८१ को नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा व्यापारको हिस्सा ३०.५९ रहेको केन्द्रले जनाएको छ । सोही वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादनमा निर्यात तथा आयातको हिस्सा क्रमशः २.२७ प्रतिशत र २७.९२ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७९÷८० को नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा व्यापारको हिस्सा ३३.०७ प्रतिशत रहेको थियो ।

साझा अर्थ संवाददाता
४ भदौ २०८१, मङ्गलवार

167

Shares