नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ ।
मन्त्रीलाई बधाई तथा शुभकामना दिंदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि यूरोपसँगको सिधा हवाई सम्पर्क पुनस् स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा जोड दिएको छ ।
यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई ओटा नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको छ ।
परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिंदै परिसंघका उपाध्यक्ष राज बहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउँदै उनले समाधानका उपाय समेत सुझाए।
छलफलमा समिति सदस्य रविचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनले आग्रह गरे ।
उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मूल्य धेरै भएकोले लक्ष्य अनुरूप पर्यटकहरू भित्र्याउन गाह्रो हुने बताए । उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्ध करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए ।
समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागी नेपालले पहुँच वृद्धि गर्नु जरुरी रहेको बताए । जसका लागी नेपालबाट यूरोप जान आउनका लागी सहजीकरण गर्न नेपाललाई यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन प्रभावकारी पहल आवश्यक रहेको बताए । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्य अनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए । २०८३ भदौ सम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले बताए ।
सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरू हिक्मत सिंह ऐर, तिलक लामा, दिपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे ।