पात्रो

रेडियो

समाचार खोजी

थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

साझा अर्थ संवाददाता १ भदौ २०८१, शनिवार

काठमाडौ: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको हो । 
नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो । बाढीले खुम्बु पासाङल्हामु ५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूणर् रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु-३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका जिल्ला प्रहरी कार्यालय सोलुले जानकारी दिएको छ । 
नेपाली सेना र प्रहरीले थामेबाट उद्धार गरेका ९३ जनालाई आर्मीक्याम्पमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका-६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । बाढी भोटेकोसी हँुदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य-खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीको भनाई रहेको छ । 
खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उहाँको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे को भनाई रहेको छ ।

237 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ