sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा

२७ साउन २०८१, आइतवार साझा अर्थ संवाददाता
138
Shares


काठमाडौँः गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ । मन्त्री लेखकले 
राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा सो कुरा बताउनु भएको हो । 
अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको हुनुका पछाडि पूर्वतयारीको नतिजा रहेको मन्त्रि लेखकले बताउनु भयो । प्राकृतिक प्रकोपमा सजगता अपनाइ काम भइरहेको उहाँको भनाई थियो ।
बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले सरकारले मनसुनजन्य घटना एवं विपद् व्यवस्थापनमा के कार्य भइरहेका छन् भन्ने विषयमा जानकारी गराउनुभएको थियो । 
गृहमन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब रु पाँच करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिनुभयो । २०८१ जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य तथा विपद्का एक हजार दुई सय १२ घट्ना घटेकामा पहिरो, बाढी र चटयाङमा परी एक सय ७० जनाको मृत्यु भएको छ । ती घट्नामा परेर ४४ जना बेपत्ता भएका छन् भने एक सय ९७ जना घाइते भएका छन् । 
गृहमन्त्री लेखकका अनुसार हालसम्म पहिरोमा परेर मात्र एक सय नौ जनाले ज्यान गुमाएका छन् । पहिरोमा ३९ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट ३५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । चट्याङमा परेर २४ जनाको मृत्यु भएको उहाँले जानकारी उहाँले दिनुभयो ।  नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्धारमा खटिएको जानकारी दिनुभयो । आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृहकार्य गरी पूर्वतयारी गरिरहेको उहाँको भनाई थियो । 
बैठकमा गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्ययोजनाका सम्बन्धमा प्रतिवेदन पेस भइसकेको र प्राप्त भएका सुझावअनुसार मन्त्रालयले काम कारवाही थाल्ने बताउनुभयो । गत असार २८ गते नारायणगढ-मुग्लिङ खण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए । 
बैठकमा सांसदहरुले गृहमन्त्री लेखकलाई सडक असुरक्षित भएका, विकासको ढाँचा परिवर्तन गर्नुपर्ने, विपद्बाट पीडितलाई राहतमा ढिलाइ नगर्न, क्षति न्यूनीकरणमा र उद्धार तथा राहतमा ध्यान दिन, पूर्वतयारीलाई प्राथमिकता दिन, चाडपर्वका बेला यातायात सेवा व्यवस्थित गर्नुपर्नेलगायतका सुझावहरु दिनुभएको थियो ।

साझा अर्थ संवाददाता
२७ साउन २०८१, आइतवार

138

Shares