गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
चितवन, ३ माघः भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो । महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एक सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिनपछि कामदार थप गरी दुई सय १० पुर्याइने जनाउँदै उहाँले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताउनुभयो । प्याराफिटको ढलानका लागि डण्डी बाध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेका इन्जिनियर आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले १५ प्रतिशत हाराहारी काम गरेका छाैँ । बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ । हालसम्म निर्माण कम्पनीलाई रु छ करोड ६० लाख अग्रिम भुक्तानी गरिएको छ ।” महानगरप्रमुख रेनु दाहालले प्रदेश सरकारले रु १० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सङ्घीय सरकारले चालु आर्थिक यस वर्ष विनियोजन गरेको रु २५ करोड भने आइनसकेको उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालयबाट फाइल अर्थमन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । महानगरप्रमुख दाहालले भन्नुभयो “दुई महिना अघि अर्थमन्त्रालयमा फाइल पुगेको छ । अर्थमन्त्री र सचिवसँग यो विषयमा छलफल भइसकेको छ । केही दिनमा बजेट निकासा हुने आश्वासन पाएको छु ।” प्रदेश र सङ्घीय सरकारबाट बजेट निकासा समयमा हुने प्रतिबद्धता आएकाले बजेटका कारण काम नरोकिने उहाँले बताउनुभयो । आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण अगाडि बढाएको हो । रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बिबिआर जेभीले दुई वटा भिआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माण सुरु गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर आचार्यले जानकारी दिनुभयो । गत असार २३ गते रु ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दाबी छ । रङ्गशाला बनेसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ खेल्न सकिने छ । महानगरप्रमुख दाहालले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा बन्न लागेको रङ्गशालालाई यथाशीघ्र सम्पन्न गरी खेलकुदका प्रतियोगिता सञ्चालन गर्ने महानगरको योजना रहेको बताउनुभयो ।
साझा अर्थ संवाददाता
३ माघ २०८१, बिहिवार
14
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्यूटिकल्सले पायो आइपीओ स्वीकृती
-
पक्क्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै
-
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
-
माघ १० सम्म कायम शेयरधनीलाई पाँचथर पावरको शतप्रतिशत हकप्रद
-
साताको अन्तिम दिन ७.३३ अंक घट्यो नेप्से
-
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण