पात्रो

रेडियो

समाचार खोजी

स्थानीय तह उपनिर्वाचन करिब ६२ प्रतिशत मतदान

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

काठमाडौँः स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।

    उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।

    उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो ।

    बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।

    निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।  रासस

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता