वीरगञ्ज । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ ।
सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’हरू सुनसानजस्तै देखिन्छन् । वीरगञ्ज महानगरपालिका–९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमा भन्दा रक्सोल बजारमा २० देखि ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायःजसो सबै उतै खरिद गर्न जाने बताउँछन् ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता चाडपर्वका बेलामा पनि वीरगञ्जको भन्दा रक्सोलको सीमावर्ती बजारमा नै भीडभाड हुने बताउँछन् । “यहाँका अधिकांश सर्वसाधारण खाद्यान्न र लत्ताकपडालगायत सामान खरिद गर्न रक्सोल जाने गर्छन्”, उनले भने, “वीरगञ्जमा भन्दा सस्तो मूल्यमा पाइने भएकाले पनि रक्सोल सधैँ गुल्जार भइरहने, वीरगञ्ज भने सुनसानजस्तै हुने परिपाटीको विकास हुँदै आइरहेको छ ।”
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा सामानबाहेक अन्य वस्तु तथा सामान ल्याउन कडाइ गर्दै आइरहेको दाबी गरे । “पहिलाभन्दा अहिले धेरै सुधार भइसकेको छ”, उनले भने, “पछिल्लो डेढ महिना क्यारिङबाट सामान ओसारपसार गर्नेमा कमी आएको छ ।”
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा रु ४३ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् रु ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व संकलन भइसकेको छ । असोजभरिमा रु १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा असोज १५ गतेसम्मको अवधिमा भने रु छ अर्ब ९५ करोड राजस्व संकलन भइसकेको छ ।
भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई असोजका लागि मात्र रु चार अर्ब ८३ करोड २० लाख ४८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । तर असोजका १५ दिनका अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले दसैँमा विदेशी मदिराजन्य पदार्थको आयात भएसँगै राजस्व सङ्कलन उत्साहजनक रहेको बताए । रासस
साझा अर्थ संवाददाता