काठमाडौँ, १० असार
नेपाली बजारमा आज असार १० गते सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ हजार ६ सय रुपैयाँले नै ओरालो लाग्दै प्रतितोला २ लाख ८२ हजार ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला २ लाख ८६ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थाहा भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ रहेको थियो।