काठमाडौँः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल-चीन हिमालय मैत्री समाजद्वारा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले उक्त कुरा बताउनु भएको हो ।
नेपाल-चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष प्रवेशको अवसरमा ओजित कार्यक्रममा मन्त्री भण्डारीले नेपालको विकास र समृद्धिका लागि लगानी आवश्यकता भएको र त्यसका लागि चीन सरकारबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । नेपाल-चीन सम्बन्धका आयाम र महत्व परिवर्तित सन्दर्भमा अझै धेरै बढेर गएको उहाँको भनाई थियो ।
लगानीमैत्री वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्रीभण्डारीले पारस्परिक सहयोगका आधारमा एक छिमेकीले अर्को छिमेकीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीनको विकासबाट विशेष गरी नेपालसहित विश्वका अन्य मुलुकलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्थागत क्षमता अभिवृद्धि चीनको मुख्य कार्य भएको बताउँदै राजदुत सङले यही सिद्धान्तलाई चीन सरकारले अवलम्बन गर्दै आएको उक्त अवसरमा बताउनु भयो । समाजका संरक्षक तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी दिनमा नेपालको सर्वभौमसत्ता, ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्पमा दुई देशको सहयोगबाट कसरी राम्रो गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य रहेको जानकारी दिनुभयो । चीनका लागि नेपालका पूर्वराजदूतहरु महेन्द्रबहादुर पाण्डे, टङ्क कार्की, विष्णुहरि नेपाल लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।
साझा अर्थ संवाददाता