sajhaartha.com २८ पुष २०८१, आइतवार
२८ पुष २०८१, आइतवार
12th, January 2025, Sunday
ताजा खबर

आलेखः विश्व अर्थतन्त्र २०२४; कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृतिम बौद्धिकताको उत्कर्षको वर्ष

१७ पुष २०८१, बुधवार साझा अर्थ संवाददाता
57
Shares

काठमाडौँ, १७ पुस (रासस): सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन–रूस युद्ध, मध्यपूर्वको विवाद, र अमेरिकाको राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः परिभाषित ग¥यो । क्रिप्टोकरेन्सीले ऐतिहासिक उचाइ हासिल ग¥यो भने फिनटेक क्षेत्रले नयाँ सम्भावनाहरू देखायो । विश्व तापमानमा ऐतिहासिक वृद्धि र प्राकृतिक प्रकोपहरूले जलवायु सङ्कटलाई थप गम्भीर बनाएको यो वर्ष आर्थिक, सामाजिक, र प्रविधिक दृष्टिले महत्वपूर्ण रह्यो । विश्व अर्थतन्त्रका महत्वपूर्ण घटना र उपलब्धीलाई राससले समीक्षा गरेको छ । 

कमजोर आर्थिक वृद्धि

यो वर्ष कमजोर आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीति र नियन्त्रणकारी मौद्रिक नीतिको वर्ष रह्यो । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले सन् २०२४ मा विश्व आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत र विश्व बैंकले दुई दशमलव छ प्रतिशत रहने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर यसवर्ष तीन दशमलव दुई प्रतिशत रहने छ । आईएमएफद्वारा प्रकाशित ‘वल्र्ड इकोनोमिक आउटलुक’ अनुसार भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारण विश्वको आर्थिक वृद्धि कोभिड–१९ पूर्वको तुलनामा अझै कमजोर छ । यसवर्ष विकसित मुलुकको अर्थतन्त्र एक दशमलव आठ र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर चार दशमलव दुई प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । यसवर्ष भारतको आर्थिक वृद्धिदर सात प्रतिशत र चीनको आर्थिक वृद्धिदर चार दशमलव आठ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ ।

अघिल्ला वर्षहरूको तुलनामा विश्वको मुद्रास्फीतिमा सुधार हुँदै आएको छ । सन् २०२३ मा विश्वको उपभोक्ता मुद्रास्फीति छ दशमलव सात प्रतिशत रहेकोमा यसवर्ष पाँच दशमलव आठ प्रतिशत रहने कोषले प्रक्षेपण गरेको छ । यसवर्ष भारतको मुद्रास्फीति चार दशमलव चार प्रतिशत र चीनको मुद्रास्फीति शून्य दशमलव चार अनुमान गरिएको छ । 

मुद्रास्फीतिमा क्रमिक सुधार देखिएसँगै अन्तर्राष्ट्रिय स्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएको छ । अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाईमा साढे पाँच प्रतिशत पु¥याएको ‘फेडरल फण्ड रेट’लाई क्रमशः घटाउँदै २०२४ सेप्टेम्बरमा चार दशमलव ७५ प्रतिशतदेखि पाँच प्रतिशत कायम ग¥यो भने २०२४ नोभेम्बरमा साढे चार प्रतिशत देखि चार दशमलव ७५ प्रतिशत कायम गरेको छ । युरोपियन केन्द्रीय बैंकले पनि २०२४ अक्टोवरमा निक्षेप सुविधा दरलाई २५ आधार विन्दुले घटाई तीन दशमलव २५ प्रतिशत कायम गरेको छ । 

यसवर्ष मौद्रिक क्षेत्र व्यवस्थापनका लागि ठूलो अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकहरुले समेत कडा मौद्रिक नीति अबलम्बन गरे । जसले मुद्रास्फीति नियन्त्रण गर्न केहि मद्दत पुर्‍याए पनि सार्वजनिक वित्तमा भने दबाब सिर्जना गर्‍यो ।  

ब्रिक्सद्वारा अमेरिकी डलरको निर्भरता घटाउन पहल

गत अक्टोबरमा रूसका कजानमा सम्पन्न ब्रिक्स राष्ट्रहरूको १६औं सम्मेलनले अमेरिकी डलरप्रतिको निर्भरता घटाउने योजना माथि छलफल गरेपछि त्यसको चर्चा विश्वभरी चुलियो । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूले डलरको स्थानान्तरण गर्न खोजे ती देशहरुले महँगो भन्सार दर र व्यापार प्रतिबन्धसमेतको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । हाल विश्वमा अमेरिकी डलरको प्रभुत्व घटिरहेको छ, तर यो अझै पनि सबैभन्दा बढी प्रयोग हुने मुद्रा हो । डलरले विश्व केन्द्रीय बैंक रिजर्भको करिब ५९ प्रतिशत हिस्सा ओगटेको छ । ब्रिक्स राष्ट्रहरूले डलरको प्रयोग घटाउने प्रयास गरे पनि यो प्रक्रिया शुरु हुन अझै समय लाग्नेछ । यद्यपि ब्रिक्स राष्ट्रहरूले डिजिटल मुद्राको प्रयोग र साझा मुद्रा निर्माणको प्रस्तावलाई प्राथमिकता दिएका छन् ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार 

२०२४ अक्टोबर १४ मा स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सले यसवर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार ड्यारन एसिमोग्लु, साइमन जोनसन, र जेम्स ए. रोबिन्सनलाई प्रदान गर्ने निर्णय गर्‍यो । यी तीनजना अर्थशास्त्रीले ‘सामाजिक संस्थाहरू कसरी निर्माण हुन्छन् र तिनले मुलुकको आर्थिक विकास तथा समृद्धिमा कस्तो प्रभाव पार्छन्’ भन्ने बारे अध्ययन गरेका थिए । बढी समावेशी संस्थाहरू भएका देशहरूमा समृद्धि सम्भव भएको तर शोषणकारी संस्थाहरू भएका देशहरू आर्थिक असमानतामा फसिरहेका निश्कर्ष उहाँहरुको अनुसन्धानको थियो । समावेशी संस्थाहरूले दीर्घकालीन लाभ पु¥याउने तर शोषणकारी संस्थाहरूले अल्पकालीन रूपमा सत्तामा रहेका व्यक्तिलाई मात्र फाइदा पुर्‍याउँछन् ।

दुई अमेरिकी बैंक डुबे 

सन् २०२३ मा अमेरिकामा पाँचवटा बैंक बन्द भएकोमा यसवर्ष थप दुईवटा बैंक डुबे । अमेरिकाको ओक्लाहोमा राज्यको ‘द फस्र्ट नेसनल बैंक’ र पेन्सिलभेनिया राज्यको ‘रिपब्लिक फस्र्ट बैंक’ यसवर्ष बन्द भए । झुटा तथा भ्रामक बैंक रेकर्ड, ठगी, क्रिप्टोमा लगानी जस्ता कारण यी बैंकमा समस्या देखिएपछि अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले टेकओभर गरेर व्यवस्थापन गरेको थियो ।

फस्टाउँदो ‘फिनटेक’

सन् २०२४ मा फिनटेक क्षेत्रमा प्रविधिको विकाससँगै त्यसले प्रयोगकर्ता आएको परिवर्तनका कारण ठूलो रूपान्तरण देखियो । अन्तरदेशीय (क्रस–बोर्डर) भुक्तानी क्षेत्रमा ‘ब्लकचेन’ र ‘स्टेबलकोइन’ प्रविधिको प्रयोगले अन्तर्राष्ट्रिय कारोबारलाई छिटो, सस्तो, र पारदर्शी बनाउँदै लगेको छ । डिजिटल वालेटहरू बहुआयामिक वित्तीय प्लेटफर्मका रुपमा उदाएका छन् । वालेटका रुपमा उदाएका ‘एप्पल पे’ ‘गुगल पे’ जस्ता प्लेटफर्महरु क्रिप्टोकरेन्सी कारोबार, क्रस–बोर्डर भुक्तानीलगायतका क्षेत्रमा आक्रामक रुपमा अघि बढिरहेका छन् । ‘ओपन बैंकिङ’ को अवधारणा, अमेजनजस्ता इकमर्स प्लेटफर्महरुले आफै भुक्तानी सेवा उपलब्ध गराउन थाल्नु, कृत्रिम बौद्धिकताको प्रयोगबाट लगानीको जोखिम विश्लेषणलगायतका प्रविधिमा आधारित विषयमहरु यसवर्ष चर्चामा रहे । यी प्रवृत्तिहरूले फिनटेक क्षेत्रलाई तीव्र विकास मात्र होइन, उपभोक्तामुखी र वातावरणीय रूपमा उत्तरदायी सेवाहरूलाई प्राथमिकता दिने नयाँ दृष्टिकोण विश्वव्यापी रुपमा स्थापित हुन थालेको छ ।

गुगललाई विश्वको जिडिपीभन्दा बढी जरिवाना

रुसको एक अदालतले गत अक्टोबरमा गुगल कम्पनीलाई हालसम्मकै ठूलो रकम जरिवानाको फैसला गर्‍यो । युट्युवमा रुसका सञ्चारमाध्यामलाई प्रतिबन्ध लगाएपछि दुई अन्डेसिलियन (दुईको पछाडि ३६ वटा शून्य) बराबरको जरिवानाको फैसला रुसको अदालतले गरेको हो । यो जरिवाना रकम विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा पनि बढी हो ।   

ऐतिहासिक बिन्दुमा क्रिप्टो बजार  

सन् २०२४ मा क्रिप्टोकरेन्सी बजारले ऐतिहासिक बिन्दु कायम ग¥यो । यस वर्ष बिटक्वाइनको मूल्य एक लाख अमेरिकी डलर नाँघ्यो । गतवर्षको तुलनामा बिटक्वाइनको मूल्य १२० प्रतिशत ले र इथरको मूल्य ५५ प्रतिशतभन्दा बढीले वृद्धि भयो । यस्तो वृद्धिको प्रमुख कारणमध्ये ‘बिटक्वाइन एक्सचेञ्ज–ट्रेडेड फन्ड’ लाई अमेरिकाले स्वीकृति दिनु, विटक्वाईनमा संस्थागत लगानीकर्ताको चासो बढ्नु र नयाँ क्रिप्टो नियमहरू लागु हुनु लगायत हुन् । नेपालको छिमेकी देश भुटानले यसवर्ष अमेरिकी डलर तीन करोड ५० लाख बराबरको बिटक्वाईन बेचेको विषय पनि चर्चामा रह्यो ।

ठूला मर्जर र एक्विजिसन 

सन् २०२४ मा व्यवसायिक क्षेत्रमा निकै महत्वपूर्ण प्राप्ति (मर्जर) र अधिग्रहण (एक्विजिसन) का सम्झौता भए । यसवर्ष ‘क्यापिटल वान फाइनान्सियल कर्पोरेशन’ले डिस्कभर फाइनान्सियल सर्भिसेजलाई ३५ दशमलव ती अर्ब अमेरिकी डलर बराबरको स्टक–आधारित सम्झौतामा अधिग्रहण गर्ने घोषणा ग¥यो । यस मर्जरले क्रेडिट कार्ड र उपभोक्ता बैंकिङ क्षेत्रमा ठूलो प्रतिस्पर्धी संस्था निर्माण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, जोन्सन एन्ड जोन्सन (जे एन्ड जे) ले १३ दशमलव एक अर्ब डलरमा शकवेभ मेडिकललाई अधिग्रहण गर्‍यो । जसले इन्ट्राभास्कुलर लिथोट्रिप्सी (आईभिएल) प्रविधिमा आधारित मेडिकल उपकरण निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ठानिएको छ । त्यस्तै, हेव्लेट प्याकार्ड इन्टरप्राइजले १४ अर्ब डलरमा जुनिपर नेटवक्र्सलाई गरेको अधिग्रहण, एक्सोन मोबिलले पायोनियर नेचुरल रिसोर्सेसलाई करिब ६० अर्ब डलरको स्टक–आधारित सम्झौताको अधिग्रहणलगायतका व्यवसायिक सम्झौताहरु चर्चामा रहे ।

साईबर हमला 
सन् २०२४ मा भएका विभिन्न साईबर हमलाले विश्वभरका धेरैवटा संस्था र महत्वपूर्ण सेवा प्रवाहमा अवरोध सिर्जना भयो । २०२४ जनवरीमा अमेरिकाको लोन डिपो कम्पनीमा ¥यान्समवेयर आक्रमण हुँदा उक्त कम्पनीको एक करोड ६० लाख भन्दा बढी ग्राहकको व्यक्तिगत जानकारी चोर्नुका साथै कम्पनीलाई करिब दुई लाख ७० हजार अमेरिकी डलर बराबरको घाटा लाग्यो । चिनीयाँ ह्याकरहरुको समूह ‘भोल्ट टाईफुन’ ले अमेरिकाको ऊर्जा, पेट्रोलियम पाइपलाईनजस्ता महत्वपूर्ण पूर्वाधार परियोजनामा साईबर आक्रमण गरे । अमेरिकाको ‘चेन्ज हेल्थ केयर’ आक्रमण, अस्ट्रेलियाको ‘मेडि सेक्युअर’ डाटा चोरी, बेलायतको ‘एनएचएस’ आक्रमण, स्नोफ्लेक आक्रमणलगायतका घटनाले साईबर सुरक्षाको क्षेत्रलाई तरङ्गित बनायो ।

यसरी सन् २०२४ मा राजनीति, जलवायु, युद्ध, सूचना प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण घटना घटे । अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले पुनरागमन गर्दै विश्व राजनीतिमा ठूला बदलावको सङ्केत दिए । उनको ‘अमेरिका फर्स्ट’ नीतिले अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अघि बढ्छ भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । जलवायु परिवर्तनको असरले सन् २०२४ लाई इतिहासकै सबैभन्दा तातो वर्ष बनायो । बढ्दो तापक्रम र प्राकृतिक प्रकोपहरूले वातावरणीय सङ्कटलाई थप जटिल बनाए । युक्रेन–रूस युद्धको तेस्रो वर्षमा द्वन्द्व अझै तीव्र बन्यो, र दुबै पक्षले ठूलो क्षति व्यहोर्नुपर्‍यो । मध्य पूर्वी देशको विवाद पनि उत्कर्षमा रह्यो । 

साझा अर्थ संवाददाता
१७ पुष २०८१, बुधवार

57

Shares

सम्बन्धित समाचार