काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता हुने भएको छ । मंगलवार सर्वोच्च अदालतका न्यायाधिस विनोद शर्माको एकल अदालतले सो आदेश दिएको हो ।
न्यायाधीश विनोद शर्माको इजलासले पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया चलिरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले दिएको अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको छ ।
यसअघि सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलले सो निवेदन दरपिठ (दर्ता गर्न अस्वीकार) गरेका थिए । अधिवक्ता भट्टराईले त्यसविरुद्ध यही कात्तिक २१ गते इजलाससमक्ष निवेदन दिनुभएको थियो । सो निवेदनमाथि मंगलवार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको हो । निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमानसलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख छ । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू स्वणर्िम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोषिमा कार्की, असिम शाह, गणेश पराजुली, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।
साझा अर्थ संवाददाता