काठमाडौँ, १५ वैशाखः सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीले विद्युत् खर्च घटाउन र खानेपानीको दिगोपन बढाउन सक्ने भन्दै यसलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन्।
राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रद्वारा आयोजित कार्यक्रममा सहभागीले विद्युत् आपूर्ति अनियमित र दुर्गम क्षेत्रमा प्रसारण लाइन नभएका कारण सौर्य ऊर्जा पम्पिङ प्रणालीको आवश्यकता रहेको बताए। यसलाई राष्ट्रिय खानेपानी डिजाइन निर्देशिकामा समावेश गर्नुपर्ने उनीहरूको सुझाव छ।
प्रतिनिधिसभा सदस्य जगदीश खरेलले नागरिकलाई केन्द्रमा राखेर योजना बनाउनुपर्ने बताए। ‘नेपाल जलस्रोतमा धनी हुँदै पनि धेरै नागरिक शुद्ध खानेपानीको पहुँचबाट टाढा छन्,’ उनले भने। साथै, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयबीच दोहोरोपन हटाई एकीकृत संरचना बनाउनुपर्ने सुझाव दिए। उनले खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा छुट दिने प्रस्ताव आगामी बजेटमा अघि बढाउने वचन दिए।खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले सबै नेपालीलाई सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको प्रतिबद्धता दोहोर्याए।
केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले भने, ‘सौर्य ऊर्जा पम्पिङ प्रणालीले विद्युत् अभाव भएका क्षेत्रमा राहत दिन सक्छ।’ उनले गुणस्तर र दिगो सञ्चालनका लागि छलफल जारी रहेको बताए।
सहभागीहरूले आगामी नीति तथा बजेट ग्रामीण र विपन्न समुदायलाई केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।