खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
रोजगारीको सिलसिलामा चार महिनाअघि मेघालय जानुभएका हलेसी तुवाचुङ–५ दुर्छिमका ५० वर्षीय रत्न राईको कोइलाखानीमा काम गर्दैगर्दा गत माघ २२ गते विष्फोटमा परी ज्यान गएको थियो । उहाँको परिवारलाई नगरपालिकाले रु ५१ हजार सहयोग गरेको हो । गत असोज ९ गते मेघालय जानुभएका रत्नले ज्यान गुमाएपछि घरमै गएर मृतककी श्रीमती मिना राई (तामाङ)लाई रकम उपलब्ध गराएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।
दुर्छिमस्थित जोरकाफलका राई दम्पतीको दुई छोरा र दुई छोरी छन् । ज्यालामजदुरी कमाएको पैसाले घर व्यवहार धान्दै आउनुभएका रत्नको मृत्यु भएपछि परिवारका अन्य सदस्यको विचल्ली भएको छ । उक्त घटनामा खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरले पनि ज्यान गुमाउनुभएको थियो । उनीहरुको भारतमै अन्त्येष्टि गरिएको छ । विष्फोटमा ज्यान गुमाउने सालघारीका पूर्णिराम र सुरेन्द्र दाजुभाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । विष्फोटमा गम्भीर घाइते भएका भञ्ज्याङका नरबहादुरको उपचारको क्रममा गत माघ २३ गते सिलोङस्थित निलग्रीन हस्पिटलमा मृत्यु भएको हो ।