पात्रो

रेडियो

समाचार खोजी

वन अतिक्रमण गरि बनाईएको संरचना भत्काईयो

साझा अर्थ संवाददाता २८ माघ २०८२, बुधवार

दोलखा: वन क्षेत्र अतिक्रमण गरी कुरी क्षेत्रमा निर्माण गरेको संरचना डिभिजन वन कार्यालय दोलखाले भत्काएको छ । भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पा सामुदायिक वन क्षेत्रको कुरी प्रवेशद्वार नजिक निर्माणाधीण एक घर गत बुधवार भत्काएको हो । 

डिभिवन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी नेतृत्वमा गएको टोलीले काठ र जस्ताले बनेका संरचना भत्काएको हो । सार्वजनिक अपिल गर्दा गर्दै जबरजस्ती रुपमा वन क्षेत्रमा संरचना बनेकाले भत्काएको डिभिजन प्रमुख रेग्मीले बताए । 

चरिकोटदेखि कुरीसम्म देउराली, गैरी लगायतका सडक किनारमा पनि संरचना निर्माधीण अन्य संरचनाहरु पनि छन् ति पनि हटाउने तयारी भएको उनले बताए । ‘चुनावका बेला अनुगमण आउँदैन भनेर वन क्षेत्रमा व्यापार व्यवसायका लागि संरचना बनिरहेको भटियो’ उनले भने ‘डिभिजन वन कार्यालयले आफूले गर्ने कार्य जारी राख्छ ।’ अतिक्रमित संरचना हटाउनका लागि विभागीय मन्त्रालय, विभागको निर्देशन पनि भएकाले यो अभियानकै रुपमा अन्यत्र पनि हुने उनले बताए । 

डिभिजन वन कार्यालयले १२ वर्ष यता पनि कुरी, घ्याङडाँडा क्षेत्रमा बनेका संरचना पटक पटक भत्काएको छ । तर पछिल्लो समय कुरी र घ्याङडाँडा डिभिजन वनको हो कि संरक्षण क्षेत्रको भन्ने विवादले ति क्षेत्रमा सार्वजनिक र वन क्षेत्रको जग्गा अतिक्रमण बढेको छ । कालिञ्चोक मन्दिर क्षेत्र र कुरी साविक कालिञ्चोक गाविस हाल कालिञ्चोक गाउँपालिका वडा नं. १ पर्ने दाबी छ । साविक कालिञ्चोक गाविस गौरीशंकर संरक्षण क्षेत्रमा पर्छ । कुरीको गेटमा संरक्षण क्षेत्रको बोर्ड समेत रहेको छ । 

‘विगतमा साविक लापिलाङ गाविसको झरेनी सामुदायिक वनमा पर्ने भएर १२ वर्ष अघि पनि वन क्षेत्र अतिक्रमण गरी बनाएका संरचना भत्काएका हौं’ डिभिजन प्रमुख रेग्मीले भने ‘अहिले सो क्षेत्र संरक्षण क्षेत्रमा पर्ने दाबी भएपछि हामीले आफ्नो क्षेत्रको मात्रै संरचना भत्काएका हौं ।’ भीमेश्वर नगरपालिका वडा नं. १ र ७ को सिमाना देउराली बजारमा पनि वन क्षेत्र अतिक्रण गरी अहिले पनि केही घर निर्माणाधीण छन् तिनलाई रोक्न सम्बन्धित व्यक्तिलाई जानकारी गराएको तर अटेर गरे बल प्रयोग गरेर भए पनि भत्काइने उनले बताए । देउराली बजारमा बनेका अन्य घरहरु स्थानीय सरकारले घर नं. समेत दर्ता गरेकाले हटाउन समस्या भएको बताए । 

दोलखाको शैलुङ गाउँपालिकाको गोठपानी, कालापानी, भैंसे, भीमेश्वर नगरपालिकाको खरिढुङ्गा, तामाकोसी बजार, कालिञ्चोक गाउँपालिकाको कटुवाचौर, सोती, सेउली बजार लगायतका ठाउँमा पनि वन क्षेत्र अतिक्रमण गरी बसोबास रहेकाले यसलाई हटाउने तयारी भइरहेको उनले जानकारी दिए ।

शैलुङ गाउँपालिका वडा नं. १ र ८ को सिमानामा कालापानीमा वन क्षेत्र अतिक्रमण गरी संरचना बनाएर होटलहरु सञ्चालन गरिरहेकाले ति क्षेत्र हटाउने प्रक्रिया अघि बढे तापनि उच्च अदालत पाटनको अल्पकालीन आदेशले रोकिएको छ । अहिले अदालतले समेत अल्पकालीन आदेश दिइरहनु नपर्ने भन्ने आदेश आएकाले ति संरचना भत्काउने बाटो खुलेको छ । आम निर्वाचन सकिए लगत्तै कालापानी क्षेत्रको संरचना समेत हटाउने वनको तयारी छ । 

सडक पुगेर पर्यटकीय क्षेत्र बढेपछि कालिञ्चोक र शैलुङको कालापानीमा वन क्षेत्र अतिक्रमण बढेको हो । सबैभन्दा बढी कालिञ्चोक क्षेत्रको सार्वजनिक क्षेत्र अतिक्रमण प्रशासनको समेत टाउको दुःखाइ भएको छ । अहिले कालिञ्चोक क्षेत्रमा मात्रै १०० भन्दा बढी होटलहरु वन सार्वजनिक क्षेत्रमा बनेर सञ्चालनमा छन् ।

69 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ