बागमती/साँझ पर्नासाथ अँध्यारोले घेर्ने देउजर र गढनसिरमा मंगलबार फरक दृश्य देखिए । झुपडीभित्र टुकीको मधुरो उज्यालो खोजिरहने आँखाहरु पहिलोपटक बल्बको तेज प्रकाशमा चम्किए । मोबाइल चार्ज गर्न घण्टौँ हिँड्नुपर्थ्यो भन्ने गुनासो गर्ने युवाहरू घरमै प्लग खोज्दै थिए । स्कुल जाने बालबालिका उज्यालो कोठामा रमाइरहेका थिए ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३ को दक्षिणमा पर्ने यी दुई बस्तीमा पहिलोपटक विद्युत् पुगेको हो । गाउँपालिका अध्यक्ष सर्केश घलानले ट्रान्सफर्मर जडान गरिएको पोलमा रिवन काट्दै बत्ती बाल्दा स्थानीयले लामो समयपछि विकासको अनुभूति गरे ।
‘बिकट र विपन्न समुदायलाई केन्द्रमा राखेर योजना बनाउँदा परिणाम ढिलो देखिए पनि दिगो हुन्छ’, अध्यक्ष घलानले भने, ‘आज बलेको बत्तीले यहाँका बालबालिकाको भविष्य उज्यालो बनाओस् भन्ने हाम्रो चाहना छ।’
यहाँ तामाङ समुदायको बसोबास छ । औलोको त्रासका कारण बि.सं. १९९८ मा समथर भूभाग छोडेर तामाङ समुदायका पुर्खा पहाड चढेका थिए । यहाँ बस्ती बसेको आठ दशकमा पनि उनीहरू आधारभूत सेवाकै लागि संघर्षमा थिए । केही समय अघि मात्रै सडक खुलेको यो क्षेत्रमा वर्षातको समयमा आवतजावत अवरुद्ध हुने समस्या छ ।
गाउँपालिका कार्यालय झुरझुरेबाट करिब १७ किलोमिटर दक्षिण र रौतहटको चन्द्रनिगाहपुरसँग जोडिएको यो क्षेत्रसम्म विद्युत् पुर्याउने लक्ष्य गत वर्षकै थियो । तर खोल्सा, भीर र अप्ठ्यारो भूगोलले योजना पछि धकेलिएको हो । यस वर्ष भने स्थानीयको श्रम, पालिकाको लगानी र नेपाल विद्युत् प्राधिकरणको सहयोगले सपना पूरा भएको हो ।
देउजरका ६२ र गढनसिरका १७ घरमा लाइन विस्तार गरिएको छ । प्राधिकरणले पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएको छ भने थ्रिफेज लाइनका लागि आवश्यक संरचना गाउँपालिकाले व्यवस्थापन गरेको हो ।
स्थानीयको श्रमदानले पनि गाउँमा विजुली पुर्याउन सम्भव भएको हो । पोल बोक्दै उकालो–ओरालो गर्न यहाँका स्थानीय आफैं अघि सरे । ‘बत्ती बालिएको देख्दा अब गाउँ छोड्नुपर्छ जस्तो लाग्दैन’, स्थानीय दिलबहादुर पाख्रिनले भने, ‘गाउँमा विजुली पनि आयो,सडक पनि आयो । अब गाउँमै आशा जागेको छ ।’
बिकट भुगोल र थोरै बस्तीका कारण यस अघिका जनप्रतिनिधिहरुको यी दुई गाउँको विकास प्राथमिकतामा परेन । यहाँका अधिकांस युवा रोजगारीका लागि गाउँ बाहिर छन् ।
३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रनका अनुसार इतिहास, शीतल हावापानी र जैविक वातावरणले भरिएको बागमती–३ कृषि र पर्यटनका लागि उपयुक्त क्षेत्र हो । । ‘गिताराजा–गितारानी, बनठाकुर राजा र बनठाकुर रानीको इतिहाससँग जोडिएको यो ठाउँ चन्द्रनिगाहपुरसंग सडकले जोड्न सके कृषि उत्पादन क्षेत्र र पर्यटकीय गन्तव्य बन्न सक्छ’, उनले भने । प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले विद्युत् विस्तारले शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।