कैलाली: सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो ।
सङ्घका अध्यक्ष पुुष्करराज ओझाले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।
यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष ओझाको भनाइ छ ।
महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि जोड दिइने उहाँले बताउनुभयो । महोत्सव आयोजना गर्न रु तीन करोड लागत लाग्ने अनुमान गरिएको जनाउँदै ओझाले रु १५ करोड बराबरको कारोबार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस वर्षको महोत्सवमा करिब सात लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।