-आयकरमा बैकहरुको हिस्सा १२ दशमलब २६ प्रतिशत
-सबै भन्दा बढी आयकर तिर्ने कुमारी बैंक
-
काठमाडौंः गत आर्थिक वर्षमा सरकारको आय संकलनमा बैंकहरुको भूमिका करिब साँढे १२ प्रतिशत रहेको छ । गत वर्ष सरकारले उठाएको आयकरमा बैकहरुको हिस्सा १२ दशमलब २६ प्रतिशत रहेको हो ।
गत आर्थिक वर्ष भरिमा सरकारले २ खर्ब ६७ अर्ब ६० करोड १५ लाख रुपैयाँ आयकर सङ्कलन गरेकोमा बैंकहरुले ३२ अर्ब ८० करोड १५ लाख रुपैयाँ आयकर तिरेको पाइएको छ । जुन सरकारले संकलन गरेको कुल आयकरको १२ दशमलब २६ प्रतिशत हुन आउँछ ।
आयकर तिर्ने वाणिज्य बैंकहरु मध्ये कुमारी बैंक ले सबैभन्दा बढी अर्थात तीन अर्ब ६६ करोड ५० लाख रुपैयाँ आयकर तिरेको थियो । दोस्रो स्थानमा नविल बैंक रहेको छ । नबिलले गत आर्थिक वर्षमा ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ आयकर तिरेको थियो ।
कुल २० वाणिज्य बैंक रहेकोमा १६ वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बढी कर तिरेका छन् भने चार वाणिज्य बैंकले कम आय कर तिरेको पाइएको छ । अघिल्लो आर्थिक वर्षभन्दा कम आयकर तिर्नेमा एनआइसी एसिया बैंक, प्रभु बैंक, सिटिजन्स बैंक र ग्लोबल आइएमइ बैंक रहेका छन् । सरकारले खुद नाफाको ३० प्रतिशत आयकर लिने गरेको छ ।