-केसी, सागर
दोलखाः दोलखाको रोल्वालिङ उपत्यकास्थित ‘ना’ गाउँमा गएको पहिरोसँगै च्छोरोल्पा घुम्न गएका १० पर्यटक ४ दिनदेखि अलपत्र परेका छन ्। शुक्रबार राती ’ना’ र वेदिङको बीचमा ठूलो पहिरो गएसँगै फसेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको छ ।
गुम्बाको पूजाका लागि बेदिङ पुगेका स्थानीयको साथमा पर्यटक ‘ना’ गाउँ घुम्न गएका थिए। ‘ना’ च्छोरोल्पा हिमताल नजिककैको गाउँ हो । साथमा लगेको खानेकुरा समेत सकिन थालेको ’ना’मा अलपत्र परेका दावाछिरी शेर्पाले गुनासो गनुृ भयो । ४ दिनदेखि उद्धारका लागि आग्रह गरे पनि उद्धार हुन नसकेको उहाँको भनाई रहेको छ ।
अलपत्र पर्नेमा गौरीशंकर गाउँपालिका ९ का दावाछिरी शेर्पा, पेमाछिरिङ शेर्पा, ङावाङ दोर्जे शेर्पा, ओङगछे शेर्पा, नावाङ दोर्जे शेर्पा, पासाङयाङ्जी शेर्पा, दावादिकी शेर्पा र मिङ्मायाङजी शेर्पा रहनु भएको छ । यस्तै सोलुखुम्बुका छिरिङयाङ्जी शेर्पा र ऐसस्ग्याम्छो शेर्पा पनि हुनु हुन्छ ।
थाङ्दिङमा अलपत्र परेका ४ जनाको भने स्थानीयको सहयोगले समदर गोरा मन्दिर नजिकै रहेको खोलामा रुख ढालेर त्यसैको सहायतामा जंगलको बाटो हुँदै सोमबार उद्धार गरिएको गौरीशंकर गाउँपालिका-९ का वडा अध्यक्ष निमगेली शेर्पाले जानकारी दिनुभयो ।
पहिरोमा फसेकाहरूको उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई गौरीशंकर गाउँपालिकाले आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापनमा हेलिकप्टरबाटै उद्धार गर्ने स्रोत नहुँदा गृह मन्त्रालयमा अनुरोध गरिएकोमा नेपाली सेनाको हेलिकोप्टर पठाउने तयारी गरिए पनि मौसमको खराबीको कारण समस्या भएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।
गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले पालिकाको खाता पनि बन्द रहेको र लाखौं खर्च गरेर उद्धार गर्ने स्रोत नभएको हुँदा गृह मन्त्रालयमै गुहार माग्नुपरेको बताउनु भयो ।
’दुर्गममा भएकाले अलपत्र पर्नेहरुको विवरण ढिला आयो । जानकारी पाए लगत्तै गृह मन्त्रालयमा ताकेता गरिरहेका छौ । संभवतः गृहले हेलिकप्टर पठाए चाँडै उद्धार हुन्छ,’ अध्यक्ष कार्कीले भन्नु भयो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाउने तयारी गरिए पनि मौसम खराबीको कारण समस्या भएको जानकारी दिनुभयो ।
गौरीशंकर हिमालबाट बहेर आउने छ्योमुगुल्छ्यु खोलामा आएको बाढी-पहिरो, वरपरका खोल्सा खोल्सीबाट र च्छोरोल्पा (रोल्वालिङ खोला)को बाढीले ५ वटा ट्रष्ट पुल, झोलुंगे पुल र काठे पुल बगाएको छ। बाढीले समदर गोरा महादेव स्थलबाट दालदुङ सिमीगाउँ जान बनाइएको फलामे ट्रस्ट पुल, ठेम्लुङ ट्रस्ट पुल, डोंगाङ पुलसहित बगाउँदा रोल्वालिङ पदमार्गमा तत्कालका लागि हिँडडुल गर्न नसकिने अवस्था छ। बाढीले डोंगाङका वस्ती नै विस्थापित गर्दा बेपत्ता भएका एक जनाको खोजीका लागि गएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली डोंगाङभन्दा माथि पुग्न नसकेपछि फर्किएको छ ।
तस्विरः गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाको फेसबुकबाट
साझा अर्थ संवाददाता