काठमाडौँ । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैंचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे । अहिले दुई साता भइसकेको छ, स्याउ हलक्कै बढेर फलमा आकार देखिन थालेको छ । ‘दुई सातामा अस्वभाविक तरिकाले बढेको स्याउले सबैलाई अचम्मै बनायो’, बझाङ खप्तडछान्ना गाउँपालिका–५ का पिठातोलाका स्याउ किसान हरिप्रसाद जोशीले भने, ‘अहिलेसम्म स्याउको आकार देखिए पनि स्वाद भने आएको छैन ।’
लामो समय भारत बसेर दसैँ बिदामा घर आएका खप्तडछान्ना–५ का देवप्रसाद शर्माले भने, ‘कात्तिकमा नयाँ स्याउ फलेको, सुनेको, देखेको पहिलो पटक हो ।’ लामो समय स्याउ बगैँचामा काम गरेको अनुभव सुनाउँदै ६६ वर्षीय शर्माले अहिले आश्चर्यमा परेको उल्लेख गरे । अहिले हुर्किरहेको स्याउ मौसममा आएको परिवर्तनका कारण हुनसक्ने उनले धारणा राखे ।
सोही ठाउँमा दीपक जोशीले पनि स्याउ एकै वर्षमा दुई पटक फल्नु अनौठो भएको बताए । उनले भने, ‘यसअघि मौसममा फलेका फल कुहिएर सकियो । तापक्रम बढेर यस्तो समस्या आएको हुनसक्छ । अन्य ठाउँमा जलवायु परिवर्तनको असरबारे समाचार सुनिन्थे । यहाँ आँखै अगाडि देखियो । यो पनि जलवायु परिवर्तनको असरले भएको होला ।’
खप्तडछान्ना गाउँपालिकाका कृषि अधिकृत भूमिराज खत्रीले स्याउमा मात्रै नभई हरेक बालीनाली, फलफूल तथा तरकारीमा जलवायु परिवर्तनको असर देखा पर्न थालेको बताए । उनले भने, ‘बेसिजनमा स्याउ फल्नु भनेको तापक्रम वृद्धि भएकाले हो । पहिले पहिले यो समयसम्म निकै जाडो बढिसकेको हुन्थ्यो । आजभोलि अझै गर्मी घटेको छैन ।’ गर्मीका कारण फेरि पालुवा पलाएर स्याउ फूलेको र फलेको हुनसक्ने कृषि अधिकृत खत्रीले बताए । ‘पहिले यो समयमा छान्ना क्षेत्रमै मान्छे ढाक्ने हिउँ पर्दथ्यो । अहिले हिउँ देखिँदैन । तापक्रम धेरै बढेकाले हिमालमा पनि हिउँ पर्न कम हुँदै गएको छ । यसले कृषि उत्पादनमा समस्या देखिन थालेको छ’, उनले भने ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले मौसम फेरबदल हुँदा बेसिजनमा स्याउका बोटमा फल लागेको बताए । उनले भने, ‘जलवायु परिवर्तनले कृषिमा असर पारेको भन्ने सबैको चिन्ता छ । त्यसमा पनि स्याउले आराम गर्ने समयमा फल दिनु भनेको निकै सङ्कटको अवस्था हो ।’ प्रमुख विष्टले असोज÷कात्तिकको समय फल दिइसकेपछि पात झरेर स्याउ, नास्पाती, ओखर, आरु, मेल, पाँकर जस्ता बोट बिरुवाले आराम गर्ने बेला भएको भन्दै यो समयमा फल दिन थालेपछि अनुसन्धान गर्नुपर्ने बताए । ‘अनुसन्धान गर्दा जलवायु परिवर्तन वा अन्य कारण पनि देखिन सक्छन् । अहिले भने यो समस्या तापक्रम वृद्धिले भएको अनुमान गरेका छौ’, उनले भने ।
साझा अर्थ संवाददाता