दोलखाः आफूले पाउने सामाजिक सुरक्षा भत्ता समेत राज्यलाई नै फिर्ता गर्ने मेलुङ गाउँपालिका वडा नं. ६ सिम्रासका खिलहरि पौडेललाई मरणोपरान्त सम्मान गरिएको छ । सामान्य गाउँमै खेती किसानीबाटै जीविकोपार्जन गरेका पौडेलले आफूलाई आफ्नै परिश्रमले खान पुग्छभन्दै राज्यको सुविधा नलिएका पौडेललाई आइतवार मरणोपरान्त सम्मान गरिएको हो ।
पौडेल बंश महासंघ नेपाल जिल्ला कार्यसमिति दोलखाको दोस्रो अधिवेशनको अवसरमा खिलहरिलाई मरणोपरान्त सम्मान गरिएको पौडेल बंश महासंघ नेपाल जिल्ला कार्यसमिति दोलखाले जानकारी दिएको छ । खिलहरिको ३ महिना अघि ९४ उमेरमा मृत्यु भइसकेको छ । खिलहरि अहिले यो संसारमा नभए तापनि बाचुञ्जेल राज्यले दिएको सुविधा समेत आफूभन्दा निम्न वर्गका लागि भन्दै सामाजिक सुरक्षा भत्ता समेत राज्यमा फिर्ता गरेर अनुकरणीय कार्य गरेकाले सम्मान गरिएको पौडेल बंश महासंघ नेपाल दोलखाका निवर्तमानअध्यक्ष दिलसागर पौडेलले दिलसागर पौडेलले जानकारी दिनुभयो ।
पौडेल सामान्य परिवारको व्यक्ति भए तापनि स्वाभिमानी रहेको छिमेकीहरुले बताए । सिम्रासकै लालप्रसाद पौडेलका अनुसार खिलहरि आफैंले परिश्रम गरेरै जीवनयापन गर्नु पर्छ र आफूलाई समस्या नभई राज्यले दिने सुविधा लिनु हुन्न भन्ने समाजकै उदाहरणीय व्यक्ति रहेको बताए । राज्यले दिएको सुविधा लिनु पर्छ भनेर सम्झाउँदा पनि उहाँले आफूलाई दिने पाउने आफूभन्दा गरिबहरुलाई दिन आग्रह गर्ने गर्नु भएको स्थानीयहरुको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता