काठमाडौँ, २६ जेठ : प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस गर्नुभएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार नवनियुक्त मन्त्री पुनको पद तथा गोपनीयताको सपथ आज दिउँसो ३ बजे हुँदैछ। म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभामा निर्वाचित ७१ वर्षीय पुनलाई मन्त्री बनाउने निर्णयसँगै दलीय राजनीतिको दबदबा रहेको नेपालमा स्वतन्त्र सांसदले विरलै मन्त्री पद पाउने पुरानो परम्परा तोडिएको छ।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भइसक्नुभएका पुनले सो समयमा विज्ञान नीतिको सुधारमा महत्त्वपूर्ण काम गर्नुभएको थियो। एसियाकै नोबेल पुरस्कार मानिने ‘रेमन म्यागसेसे पुरस्कार’ विजेता पुनले हिमाली र दुर्गम क्षेत्रमा वायरलेस इन्टरनेट पुर्याएर चर्चा कमाउनुभएको थियो। दशकौँदेखि प्रविधि र विकासमा योगदान पुर्याउँदै आउनुभएका पुनको आगमनले नवगठित मन्त्रालय र देशको प्रविधि क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।